२२ वर्षीय दिवेशले पाएको यो स्थानले धेरै नेपालीलाई खुसी दिएको छ। साथै दिवेशले संसारभर आफ्ना धेरै प्रशंसक कमाएका छन्। अमेरिकन आइडलमा यहाँसम्मको सफलता पाउने पहिलो नेपाली दिवेश नै हुन्।

विशेषगरी 'कन्ट्री' गीत गाउने दिवेशले कार्यक्रममा जजहरूको पनि निकै प्रशंसा बटुले। अडिसन चरणदेखि नै उनले जजहरूबाट पनि राम्रा टिप्पणी पाएका थिए। नेपाललाई उनले अमेरिकन आइडलको मञ्चमा चिनाए पनि। फाइनलका लागि गीत गाइसकेपछि जज ल्युक ब्रायनले उनलाई भनेका पनि थिए- काठमाडौंमा यस्तै राम्रा गायक भए आगामी सिजनमा स्वागत गर्छौं।

दिवेशले अमेरिकन आइडलको उपविजेतासम्मको यात्रा तय गर्दा धेरै गीत गाए। गायनशैली, गीत छनोट, मिहिनेत र क्रमशः सुधार हुँदै जाने खुबीले उनलाई यहाँसम्म पुर्‍याएको हो।