परम्परागत शैली त्यागेर आधुनिकता तिर लम्कदै छ कृषि प्रणाली

मेट्रो दैनिक, काठमाडौं । 

कृषि क्षेत्रमा नेपाल सरकारले लगानी गरेको अनुदान साच्चै फलदायी भैरहेको छ त ? वास्तविक किसानहरुले नै अनुदान पाएका होलान् त ? कृषिबाट किसानले कति उत्पादन गर्छन् ? बजार मूल्य पाएका छन् कि छैनन् ? बजार व्यवस्थापन कसले कसरी गरेको छ ? यस्तै यस्तै प्रश्नहरु मनमा खेलाउँदै प्रधानमन्त्री कृषि परियोजना अवोलोकनको क्रममा हामी तनहुको आबुँखैरेनी स्थित तरकारी जोनमा पुग्यौं ।

हामी त्यहाँ पुग्दा हाम्रो कौतुहलता मेटाउन प्रधानमन्त्री कृषि परियोजनाका व्यवस्थापक टेक बहादुर चितौरिया र जोनका अध्यक्ष ईश्वर बाबु गौली लगाएत   कृर्षकहरु पनि उपस्थित थिए । कृर्षकहरुको उत्साह र त्यहाँ उत्पादित नगदे वाली देख्दा केहि हदसम्म हाम्रो जिज्ञासा त मेटिएकै थियो तैपनि जोनमा आवद्ध किसान सोल बहादुर चितौरे मगरले हामीलाई झन बढि प्रष्ट हुन सहयोग गरे ।

करीब ८ रोपनी जमिनमा खेती गरेका उनले वाली गुणस्तर हेरी मूल्य निर्धारण हुने र श्री मिलिजुली कृषि उत्पादक सहकारी संस्थाले वालीको बजारीकरणमा निक्कै ठूलो योगदान दिएको बताए । मगरले भने, "सहकारीको सहकार्य मार्फत तरकारी बिक्री वितरणमा सहजभएको हो । कृषिमा अनुदान आएपछि सरकारी निकायबाट हामी जस्ता किसानलाई कृषि वालीको विषयमा जनचेतना मुलक तालिम दिने गरेको छ । यस्ता तालिमहरुका कारण वाली पहिला भन्दा बढि उत्पादन हुनाको साथै किसानहरुमा कृषि प्रतिको मोह बढ्दै गएको छ । योजना लागु हुनु भन्दा अगाडि किसानहरु खासै कृषिमा भन्दा अन्य पेशामा आवद्ध थिए । परयोजना आएपछि गुणस्तर र उत्पादन संख्यामा बृद्धि हनुका साथै कृषि पेशामा आवद्ध हुनेको संख्यापनि बढेको छ ।"

पृथ्बी राजमार्गबाट केहि मिटर माथीबाट झट्ट हेर्दा देखिने दृश्य यस्तो ठाउँमा पनि तरकारी जोन हुन सक्छ र भन्ने जस्तो लाग्छ । तर भौगलिक हिसाबले डाडाकाडा भएको भए पनि उक्त स्थानमा हामी पुग्दा लहरे वाली नपत्याउँदो गरि भरीपुर्ण देखिन्थ्यो ।  प्रधानमन्त्री कृषि परियोजना अन्तरगत संचालित उक्त तरकारी जोनमा पुग्दा सिंचाईको भने ठुलो चुनौती छ जस्तो देखिन्थ्यो । भनिन्छ गरे के हुदैन ? त्यसको उदाहरण त्यहाँ पुग्दा सजिलै अनूभुति गर्न सकिन्थ्यो । सिंचाईको अभावमा पनि त्याहाँका किसानको कृषि प्रतिको लगाव र मोहो भन्ने निक्कै धैरै थियो हामी त्यो देखेर हाम्रो टोली खुव प्रभावित समेत भयो ।

तरकारी जोनका अध्यक्ष ईश्वर बाबु गौलीका अनुसार करिब ६ सय हेक्टर जमिनमा फैलिएको उक्त तरकरी जोनमा पाँचसय किसानले कृषि पेशा मात्र अगालेका छन् । त्यसको अलावा एक हजार भन्दा बढि अन्य पेशा सँगसँगै कृषिमा पनि आवद्ध भएका छन । उनीहरुको भनाई अनुशार व्यवसायीक र्फम हुनेले सरकारी अनुदान पाउने गरेको र फर्म नहुनेले पनि सामुहिक रुपमा अनुदान पाउने गरेका छन् । जोनमा वर्षको तीन वाली उत्पादन हुने गरेको छ । साउन देखी सुरु भई कार्तिक सम्म लगाउने वालीलाई अगौटे वाली भनिदो रहेछ जस अन्तर्गत काउली, बन्दा, टमटर, घिरौला लगायतका रहेका छन् । त्यस्तै मंसिरदेखी फागुनसम्मका वाली मध्यवालीमा पर्दा रहेछन । त्यस समयको वालीमा भने विषादीको प्रयोग गर्न नपर्ने जोनमा आवद्ध कृषक सोल बहादुर मगरले जानकारी दिए ।

चैतदेखी असरसम्म लहरे वाली लगाइने समय रहेछ हाम्रो यस पटकको अवलोकनको अवसर पनि यसै बेला परेको थियो ।  पृथ्वी राजमार्गबाट करिब ५ सय मिटर पैदलयात्रा पछि देखिने लहेर वालीले साच्चै हामी कृषि प्रदान देशमा छौं भने झल्को दिन्थ्यो । करेला, चिचिन्नो, घिरौला, काक्रो लगायतको तरकारीले भरिपूर्ण देखिने त्यस जोनमा सिंचाईको भने निक्कै ठुलो समस्या देखिन्थ्यो । यस जोनमा आवद्ध प्रत्येक किसानले वर्षमा ५ देखि ८ लाखसम्म आम्दानी गर्ने गरेको अध्यक्ष गौलीले हामीलाई बताए । आर्थिक वर्ष २०७४/७५ मा मात्र त्यस जोनमा १ करोड १८ हजार ५ सय आम्दानी भएको थियो ।

कृषकले पछिल्लो समयमा तरकारी खेतीबाट उचित मुल्य पाउन थालेपछि किसानहरु कृषि पेशामा रमाउन थालेका छन् । श्री मिलिजुली कृषि उत्पादक सहकारी संस्थाको सहयोगमा तरकारी बेच बिखनमा सहि मूल्य पाउने थालेपछि किसानहरुलाई जीविको पार्जनमा समेत ठूलो सहयोग हुन थालेको छ । समय समयमा कृषि तालिम हुने गरेकोले गर्दा पछिल्लो दिनहरुमा आएर विषादी कम प्रयोग गर्ने गरेको कुरा कृषकहरुले हामीसँग छलफलको क्रममा बताए । उनीहरुको भनाई अनुशार उनीहरुले माटोलाई रोटेश्न गरेर हरेक पटक फरक फरक वाली लगाउने गरेका छन् । मिलिजुली सहकारीमा १ हजार ६ सय हारहारी किसान सदस्यहरु आवद्ध रहेका छन् ।

जोनबाट उत्पादित तरकारी वाली मिलिजुली सहकारीले किसानसँग सहकार्य गरी  एकमुस्ट खरिद गरी त्यहाँबाट सिधै बजारमा पुर्याउने गरेको छ । सहकारीको र जोनका समेत अध्यक्ष रहेका गौली भन्छन किसानलाई मर्का नपरोस र किसानको तरकारिको उचितमुल्य पाउनु पर्छ भनेर नै हामीले हरेक दिन तरकारीको मुल्य निर्धारण गर्ने गरेका छौं । किसानहरुले बिहान ७ बजे देखी १० बजेसम्म तरकारी ल्याई सहकारीमा जम्मा गर्ने गर्दछन ।

अध्यक्ष गौली भन्छन् "तरकारीको मूल्य निर्धारण गर्दा तरकारीको गुणस्तर हेरी निर्धारण गर्ने गरेका छौं ।" थप्दै उनले भने, "धेरै उत्पादन गर्ने किसानलाई पहिलो, दोस्रो र तेस्रो गरी वर्षमा एकपटक पुरस्कृत गर्ने प्रचलन समेत बनाएका छौं । टाढाबाट आउने किसानलाई विपन्न र गुणस्तर हेरेर हौसला बढाउन समेत पुरस्कृत गरिन्छ । किसान हो तर उसँग जमिन र लगानी गर्ने पुजी छैन भनेपनि सहकारीको माध्यमबाट किसानलाई केहि हदसम्म भएपनि लगानी गर्ने वातावरण सिर्जना गर्ने गरेको छौं ।"