बेलायतमा विदेशी विद्यार्थीहरुलाई ‘फुलटाइम’ काम गर्ने छुट

लण्डन । कोरोना भाइरसको संक्रमणका कारण निम्तिएको महामारीका बेला बेलायतमा अध्ययनरत विदेशी विद्यार्थीहरुले ‘फुलटाइम’ काम गर्न छुट पाउने भएका छन्।

बेलायत सरकारले हालै जारी गरेको नयाँ निर्देशिका अनुसार विदेशी विद्यार्थीहरुले यसअघि तोकिएको हप्तामा २० घण्टाभन्दा बढि समय काम गर्न पाउने भएका हुन् । कोरोना महामारीको कारण विश्वविद्यालयमा पठनपाठन बन्द रहने अवधिसम्मको लागि ‘अस्थायी व्यवस्था’ गरिएको बताइएको छ ।

बेलायत सरकारको नयाँ निर्णयबाट बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरु पनि लाभान्वित हुने ठानिएको छ। यसबाट धेरै नेपाली विद्यार्थीहरुले फाइदा लिन सक्नेछन् । “अहिलेको असहज परिस्थितिमा काम पाउन कठिन भएता पनि काम गरिरहेका र काम खोज्दै गरेका विद्यार्थीहरुले भने राहत पाउने देखिन्छ,” लण्डनस्थित शैक्षिक परामर्शदाता कम्पनी ‘युनी ल्याडर’ का निर्देशक गणेश खड्का बताउँछन् ।

कोरोना भाइरसको महामारीका कारण अहिले बेलायतमा अध्ययनरत दशौं हजार विदेशी विद्यार्थी अलपत्रजस्तै बनेका छन् । विश्वविद्यालयहरुले ‘फेस टु फेस’ पठनपाठन अनिश्चितकालका लागि बन्द गरेका छन् भने ‘लकडाउन’ का कारण विद्यार्थीहरु आफ्नो देश फर्किन समेत पाएका छैनन् । धेरै विश्वविद्यालयहरुले अनलाइनमार्फत ‘भर्चुअल अध्ययन’ को व्यवस्था भने शुरु गरेका छन् ।