राजनीतिक आकाशमा इमरान
मेट्रो दैनिक, काठमाडौँ ।
 
इमरान खान अर्थात् पाकिस्तानका प्रधानमन्त्री । रङ्गीन दुनियाँका नायक । उतारचढावयुक्त जीवन तर सफल क्रिकेट खेलाडी । बिन्दास जीवन जिउने कला । उनी जेल बसेनन् । बरू लण्डनका नाइट क्लबहरूमा देखिए । दिउँसो क्रिकेट र साँझमा नाइट क्लब । कतिले उनलाई हाँसो र ठट्टाको पात्र बनाए । नबनाउन् पनि कसरी ? लण्डनको कुनै नाइट क्लबबाट बाहिर निस्किँदा खिचिएको खानको एउटा तस्वीर निकै भाइरल बनेको थियो जसमा लेखिएको थियो– ‘Big boys play at night’ । दिउँसो क्रिकेट खेलाडी अनि रातमा रङ्गीन दुनियाँको खेलाडी । उनी देख्दा कुनै हलिउड हिरोभन्दा कम थिएनन् । त्यसैले त कहिले राजकुमारी डायनासँग देखिन्थे त कहिले मिग ज्याकजस्ता चर्चित गायकसँग ।
 
इमरान सम्पन्न परिवारमा जन्मिए । अभावमा बाँच्नु परेन । लाहोरको एक धनाढ्य परिवारमा यिनको बालसुलभ जीवन बित्यो । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा उच्चशिक्षा हासिल गरे । पश्चिमी चालचलनमैँ सजिए र त्यहीको चक्काचौँदमैं रमाए । अक्सफोर्डमा अध्ययन गर्दा नै इमरान क्रिकेटका नामुद खेलाडी बनिसकेका थिए जसका कारण पाकिस्तानी राष्ट्रिय टिममा पर्न उनलाई कुनै आइतबार कुर्नु परेन । पाकिस्तानी राष्ट्रिय टिममा पर्नुले इमरानको जीवन सबैभन्दा उज्यालो भयो । 
 
विश्व क्रिकेटका नामी खेलाडीहरूको पहिलो लहरमा आउँछन् अल राउण्डर इमरान खान । ब्याटिङ र बलिङ दुवैमा बेजोड इमरानको नेतृत्वमा पाकिस्तानले क्रिकेटको विश्वकप जित्यो जसले इमरानको व्यक्तित्वको फैलावट र लोकप्रियता बढायो । क्रिकेटको माध्यमबाट पाकिस्तानको अन्तर्राष्ट्रिय साख अझ माथि उठ्यो जसका कारण लोकप्रियता र जिम्मेवारीको भारी इमरानको काँधमा देखिन थालिसकेको थियो ।  
 
अब यहाँनेरबाट ने इमरानको रङ्गीन जीवनमा अभूतपूर्व परिवर्तन देख्न सकिन्छ । रङ्गीनबाट गहन जीवनको गोेरेटो । आफ्नै आमाको नाममा क्यान्सर हस्पिटल बनाए जसको उद्देश्य थियो गरीबको सेवा  । पाकिस्तानको राजनीतिक छिनाझपटी भ्रष्टाचार, वैमनष्यता र गरीविले इमरानलाई चिमोट्न थालिसकेको थियो जसका कारण खानको राजनीतिक चेत अझ गहन बन्दै गयो । 
 
इमरानले सन् १९९६ मा राजनीतिक दल स्थापना गरे– तेहरिके–इन्साफ । पिटिआई । उनको विगतलाई हेरेर खिसीटिउरी गर्नेहरूले इमरानलाई खुब उडाए । पाकिस्तानी राजनीतिमा दादागिरी मच्चाइरहेका भुट्टो र शरीफका बफादारहरू इमरानका विरुद्ध सोझिए । ठूला राजनीतिक दल, मुस्लिम लिग र भुट्टोको पाकिस्तान पिपुल्स पार्टीका हनुमानहरू इमरानका विरुद्ध खनिए । बंशवादका अनुयायी यी दुई राजनीतिक दलले पालैपालो शासनसत्ता सम्हाले तर जनताको जीवनस्तरमा सुधार गर्न सकेनन् । बरू विद्वेश, हत्या र हिंसाका वारदातहरू बढ्दै गए । 
 
इमरान राजनीतिमा नयाँ थिए । उनको दल चुनावमा पटकपटक पराजित भयो । खानलाई कुनै शक्तिकेन्द्रको ढाडस थिएन । उनी प्रत्येक पराजयमा अझ आत्मविश्वासका साथ उठे । उनी कहिल्यै ढलेनन् । सक्रियताले अस्तित्वको निर्माण गर्छ, निष्क्रियताले अस्तित्वको समाप्ती । २३ वर्षपछि इमरानलाई उडाउनेहरू जनताबाट ओझेल भए भने इमरान जनताबाट निर्वाचित । हुन त इमरानलाई शक्तिमा ल्याउन पाकिस्तानी सेनाको ठूलो हात रहेको बताइन्छ जसलाई इमरान र पाकिस्तानी सेनाले अस्वीकार गरेका छन् । सत्य जेसुकै होस् तर इमरानको आगमनसँगै पाकिस्तानमा नयाँ सपनाको रक्तसञ्चार भएको छ । 
 
प्रधानमन्त्री नियुक्ति भएकै दिन आफू र मन्त्रीपरिषद्ले पाउने सुविधाहरू कटौती गरे । महंगा गाडी र आलिसान महलमा रहिस जीवन बिताउने परम्परागत शासकीय रवाफमा रोक लगाइदिए । आश्चर्य के भने इमरान न कुनै कम्युनिष्ट थिए, न त वर्षौं जेल जीवन बिताएर आएका राजनीतिक योद्धा । हाम्रो देशमा वर्षौं जेल जीवन बिताएका र आफूलाई कम्युनिष्ट भन्नेहरूको सरकार छ तर दुर्भाग्य सेवा, सुविधा र रवाफमा यिनीहरू कुनै कुलिन वर्गका धनाढ्यभन्दा कम देखिँदैनन् । आफ्नै छोरी, बुहारी, साला, साली र हनुमानहरूको लस्करले समृद्धि आउला ? राजनीतिमा ढोंग एउटा अपराध हो । ढोंगीहरू मुर्दाबाद !
 
काश्मिरको द्वन्द्वलाई लिएर पाकिस्तान र भारतबीच चारपटक युद्ध भइसकेको छ र भर्खरै पुलवामा आक्रमणपश्चात युद्धका बादलहरू मडारिन थालेका छन् । भारत लोकसभा चुनावको सन्निकट छ । वर्तमान मोदी सरकारको लोकप्रियताको पारो घट्दो छ जसका कारण सत्ताधारीहरू काश्मिर द्वन्द्वमा आफ्नो रोटी सेक्ने दाउमा छन् । भारतीय मिडियाहरूको गाइजात्रा देख्दा लाग्छ, युद्ध शुरु भइसकेको छ । सुनारको सय चोट लोहारको एक चोट भनेझैं पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शान्तिका लागि पाकिस्तानी भूमिमा फेला परेका युद्धक विमान पाइलट अभिनन्दन वर्थमानलाई भारत सुम्मेका छन् र यो कुटनीतिक सुझबुझमा इमरानको कुटनैतिक व्यक्तित्व झल्किन्छ । अन्तर्राष्ट्रमा इमरानको कुटनैतिक सुझबुझको प्रंशसा भइरहेको छ । 
 
पाकिस्तानमा इमरानको उदय नेपालका ठूला राजनैतिक दलहरूका लागि एउटा चुनौती र सन्देश हुन सक्छ । आफूबाहेक अरू कसैको अस्तित्व स्वीकार्न नसक्नेहरूले पाठ सिक्न जरुरी छ कि इतिहासको ब्याज भजाएर अबको राजनीति चल्नेवाला छैन । चुनौती र अवसरका वेला जो व्यवहारबाट श्रेष्ठ सावित हुन्छ, उही सफल हुन्छ । नेतृत्व भाषणमा मात्र होइन देशको समृद्धि र जनताको जीवनस्तरमा झल्किनु पर्छ अन्यथा अन्त्य टाढा छैन । 
 
राजनितीक आकाशमा इमरानको उडान सफल होला या नहोला तर प्रारम्भ मै इमरानले चालेका कदमहरूले उनी प्रगतिशील बाटोमैँ हिड्न चाहन्छन् भन्ने संकेत गर्दछ । बाटो सहज छैन अझ पाकिस्तान जहाँ हत्या, हिंसाका वारदातहरु व्यापक छन् भने राजनीतिक अस्थिरता र भ्रष्टाचार जरो मजबुत मानिन्छ । प्रजातन्त्रका मामलामा त झन्  पाकिस्तानलाई संकालु नजरले हेरिन्छ । कट्टरपन्थीहरुलाई सुधार सुरुचीपूर्ण हुन सक्दैन जसका कारण इमरानको यात्रा अझ चुनौतीपूर्ण छ । डरलाग्दो पक्ष के छ भने पाकिस्तानमा राजनीतिक हत्याकाण्ड तथा अपराधीकरणको जालो मजबुत मानिन्छ । जियाउल हक, जुल्फिकर अलि भुट्टो र बेनजिरको हत्या यसका केही उदाहरणहरु हुन् । जनताबाट निर्वाचित सरकार पाँच बर्ष टिकेको इतिहास छैन । सेनासँगको सम्बन्ध नै धेरै हदसम्म पाकिस्तानमा राजनीतिक स्थिरतको कारण हुने गर्दछ । काँडाघारी र सिस्नुघारीका बीचमा इमरानको यात्रा जोखिमपूर्ण छ । क्रिकेटको आकाशमा उम्दा इमरान राजनीतिक आकाशमा सफल होलान् या नहोलान् तर कामना गरौं उनी लामो रेसका घोडा बनुन् ।
 
लेखक – डिल्लीराज पाण्डेय