सिधा कुरा काम गरौं !
मेट्रो दैनिक, डिल्लीराज पाण्डे ।
म सिधा कुरा बुझ्छु, कुटनीतिक भाषा त्यति बुझ्दिनँ र म विदेश मामिलाको विशेषज्ञ पनि होइन । मेरो सोझो दिमागले भन्दैछ मच्चिनुको कुनै अर्थ छैन, मच्चिनुको अर्थ थच्चिनु पनि हो । नेपाल सरकारलाई चीनले राम्रोसँग चिनेको छ । सीको नेपाल भ्रमण गर्वको कुरा हो । २३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण गराउन सफल वर्तमान सरकारलाई धन्यवाद दिनैपर्छ । “नेपालको बुद्ध धर्म अहिले  चीनको स्थानीय धर्म वनेको छ ।”
 
माथिका भनाइ हुन् चीनियाँ राष्ट्रपति सीका । अब यहाँनेर सोचौं त हामी कहाँ छौ ? आफ्नो मौलिक परम्परा, मूल्य र मान्यतालाई शत्रु ठान्ने हाम्रो नेतृत्व अनि आफ्नो स्थानीय धर्मको सम्मान गर्ने सी । अधिकांश ?? नेपालीहरू ओमकार परिवारका छन् किन्तु नेतृत्व भ्याटिकन सिटीको प्यादा । नेपालमा न कुनै धार्मिक दङ्गा थियो न त भेद्भाव तर पनि किन धर्मनिरपेक्ष राष्ट्र घोषणा गरियो ? कसको गोटिचालमा ? विश्वका हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल बन्न सक्ने सम्भावना रहेको नेपाललाई पश्चिमाहरूको इशारामा अवरुद्ध गरियो । पहिचान नामेट पारेर कठपुतली बन्नेहरूले कमसेकम सीबाट सिकुन् । बहुदलीय व्यवस्थाको आगमनपश्चात् अर्थात् २०४७ सालपछि मित्र राष्ट्र चीनले बनाइदिएका कल कारखानाहरूको तमाशा बनायौं । साझा यातायात तथा ट्रलीबसको दाहसंस्कार नै ग¥र्यौं । अनि आज हामी सहयोगको अपेक्षा गर्दैर्छौ । नैतिक बल सबैभन्दा ठूलो हुन्छ तर हामी त्यसमा धेरै पुड्को भएका छौं आफ्नै कारणले ।
 
पहिले आफ्नो अनुहार ऐनामा हेरौं । गल्ती महसुस गरौं । लोकतन्त्र र गणतन्त्रको गुड्डी हाँक्दैमा र गफ चुट्दैमा छिमेकी राष्ट्रले पत्याउँदैन उसले ब्यवहार हेर्छ मात्र ब्यवहार । अनि हाम्रो ब्यवहार दुनियाँका अगाडि छर्लङ्ग छ । जहाँ गयो त्यही आत्मसमर्पण । आन्तरिक एकतालाई मजबुत बनाऊ । संसारका आँखाले हामीलाई हेरिरहेको छ । माहुरीहरूको एकताबाट मात्रै मह प्राप्त हुन्छ । कुशल र दूरदर्शी राजनेताहरूको एकताबाट मात्रै सम्वृद्धि र स्थायित्व प्राप्त हुन्छ । अदूरदर्शी नेतृत्वको एकताबाट देशको असुरक्षा र शंकट प्राप्त हुन्छ ।
 
आज पनि हामीहरू एजेण्टगिरीको प्रतिस्पर्धामा छौं । ठूलो छिमेकी राष्ट्रको एजेण्ट भएकोमा गर्व गर्ने मानसिकता हामीलाई छ । फलानो त्यो देशको एजेण्ट ढिस्कानो त्यो देशको एजेण्ट बस यही दौडमा छौं हामीहरू । ठूलो देशको एजेण्ट भएकोमा राजनीति सुरक्षित हुने र सानो देशको एजेण्ट भएमा असुरक्षित । देशका प्राय ठूला नेताहरुलाई एजेण्टगिरीको आरोप छ तर कसैले पनि सफाइ दिएका छैनन् । वास्तवमा सीको भनाइको अन्तर्य थियो कुरा होइन काम गर । नागरिकको मन जित । चीनमा सबै योजना तोकिएको समयमा हुने दृष्टान्त उल्लेख गर्दै घुमाउरो भाषामा नेपालको काम गर्ने शैलीलाई ब्यंग्य गरेका थिए र यो सन्देश निकै महत्वपूर्ण छ ।
 
हामी दुई विशाल छिमेकी राष्ट्रको बीचमा छौं । भारत तीव्र आर्थिक विकासको बाटोमा छ भने चीन विश्वको दोस्रो ठूलो आर्थिक शक्ति । फैलावट र गतिका हिसाबले निकट भविष्यमा चीन विश्वको पहिलो आर्थिक शक्ति बन्नेछ भन्ने अनुमान विश्वका ख्यातिप्राप्त आर्थिक विश्लेषकहरूले लगाउन थालिसकेका छन् । दुई सम्पन्न राष्ट्रहरूको बीचमा विपन्न राष्ट्र भएर बाँच्नुको पिडा लामो समयसम्म नेपालले थेग्न सक्ला ? यो गम्भीर प्रश्न र चिन्ता सोझिएको छ । समयमैं चेत पाएनौं भने हाम्रो नियति सुकेको ताल र खहरे हुनेछ समयको पदचाप सँगै अगाडि बढ्यौं भने समृद्धिको ढोका खुल्नेछ । सिधा कुरा काम गरौं ।