तीन दिनपछि मध्यपहाडी राजमार्ग खुला

मेट्रो दैनिक काठमाडौँ ।

अविरल वर्षापछि आएको पहिरोका कारण अवरुद्ध बनेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी (पुष्पलाल) राजमार्गको बागलुङ खण्ड सञ्चालनमा आएको छ । पहिरोका कारण मङ्गलबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड बिहीबार साँझदेखि एकतर्फी सञ्चालनमा आएको हो ।

बागलुङ नगरपालिका–३ बोक्सेमा गएको ठूलो पहिरोका कारण अवरुद्ध बनेको लोकमार्ग आयोजना कार्यालयको सक्रियतामा तीन दिनपछि खुलाइएको मध्यपहाडी पुष्पलाल लोकमार्ग कार्यालय पर्वतका प्रमुख आशिष थापाले बताउनुभयो । “एकतर्फी यातयात सञ्चालनमा आएको छ”, थापाले भन्नुभयो, “ठूलो पहिरो भएकाले पानी पर्नासाथ पुनः लोकमार्ग अवरुद्ध हुनसक्ने अवस्था छ ।”

पहिरोले सडक अवरुद्ध हुँदा तीन दिनदेखि सवारी साधन बीच बाटोमै अलपत्र परेका थिए । बुधबारदेखि नै पहिरो हटाउन प्रयास भए पनि ठूलो पहिरो भएका कारण समस्या भएको लोकमार्ग खुलाउन खटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिनुभयो । उहाँले जतिबेला पनि पुनः पहिरो खस्ने भएकाले रातको समयमा सवारी साधन सञ्चालन गर्न रोक लगाउनुपर्ने बताउनुभयो । भासियो लोकमार्ग लगातारको वर्षाले मध्यपहाडी लोकमार्गको गलकोट खण्डको ठाउँठाउँमा भासिएको छ । गलकोट नगरपालिका–१ र २ का विभिन्न स्थानमा सडक भासिएको गलकोट नगरपालिकाले जनाएको छ ।

बिहीबार लोकमार्ग वर्षातका कारण भासिएपछि गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे, नगरउपप्रमुख रेणुका काउचा मगरसहितको टोलीले लोकमार्गको स्थलगत अवलोकन निरीक्षणसमेत गरेको थियो । दुदिलाभाटीको भुङ्खानीमा ४० मिटर, काफलठुटामा १० मिटर, चौराहामा १० मिटर, जम्दारे घुम्तीमा २० मिटर सडक भासिएको नगर उपप्रमुख रेणुका काउचा मगरले जानकारी दिनुभयो ।