ब्यस्त मानिस र आनन्दित जीवन  : ओशो अखण्ड

मेट्रो दैनिक, काठमाडौं ।
मानिस बाच्नको लागि कर्म गर्नु पर्दछ त्यसो त मानिस आफैमा पुरुषार्थ गर्न मन पराउछ । कति मानिसहरु घर परिवार त्याग्नु केही नगर्नु सन्यस्त जीवन भन्ने सोच्दछन त्यो कदापि हुन सक्दैन । आफू जुन कर्ममा छ त्यस्मै रमाएर आजको मानिस ध्यानस्थ हुन सिक्नु पर्दछ । ओशोले दिनु भएको नव-सन्यास वा जोर्बादी बुद्धको रहस्य पनि त्यही हो ।

अक्सर मानिशहरु काम गरि सकेर त्यस्को राम्रो रिजल्ट आए पछि खुसी हुने सोच्दछ्न । व्यापारीहरु नाफा कमाए पछि, बिद्यार्थीहरु राम्रो रिजल्ट आए पछि, जागिरको परिक्षा दिनेहरु नाम निस्के पछि, खाना बनाउने लुगाधुनेहरु आहा क्या मीठो खाना क्या राम्रो लुगा भनेर परिवारले स्याबासी दिए पछि, स्वयं ध्यानीहरु पनि समाधी घटित भए पछि खुशी या आनन्दित हुन्छु भनेर सोची रहेका हुन्छ्न । यो ग्यारेन्टी छैनकी तपाईले सोचे अनुशार नै कर्मको फल प्राप्त होस ।

मानिस जुन सुकै कर्म गर्न स्वतन्त्र छ उ रिजल्ट निकाल्न स्वतन्त्र छैन । रिजल्ट अरु कसैको हातमा हुन्छ जे आउँछ प्रसादको रुपमा आउँछ खुशी साथ स्वीकार गर्नु पर्ने हुन्छ । यदि स्वीकार गरेन भने पनि रिजल्ट सच्याउन सकिँदैन दुखी हुनु चिन्तित हुनु मात्र हो । बिद्यार्थी परिक्षा दिन सक्छ रिजल्ट निकाल्न सक्दैन । किसान खेती लगाउन, गोडमेल गर्न, मल हाल्न सक्छ तर धानमा बाला लगाउन, मकैमा घोगा हाल्न, केरामा कोसा लगाउन सक्दैन । गाई भैंसी पाल्न सक्छ तर दूध निकाल्न सक्दैन आउने नआउने दिनेवालाको मर्जी । एबं रितले यो संसार चलेको हुन्छ ।

हामी काम गर्न सक्छौ तर जुन सुकै रिजल्ट पनि अरु कसैको हातमा हुन्छ । आर्काको हातमा भएको रिजल्ट भने जस्तो आउला अनि खुसी हुला यो कदापी संभब छैन । तसर्थ यदि काम गर्दा गर्दै कामबाट नै आनन्द लिन सक्यो भने खुसिको लागि कुनै रिजल्ट कुरि रहनु पर्दैन उ सधै खुशी रहन सक्दछ । खेती लगाउनुको, परिक्षा दिनुको, गाई भैंसी पाल्नुको, व्यापार ब्यबसाय गर्नुको, फोहोर सफा गर्नुको, राजनिती गर्नुको या कुनै पनि कर्म गर्नुको तत्काल नै मज्जा लिई हाल्नु पर्दछ । के थाहा मीठो गरि पकाएको तरकारीमा बिर्सेर २ पटक नुन हालिएको पनि हुन सक्छ ।

यस सम्बन्धमा एउटा घत लाग्दो काहनी याद आउँछ : एकजना साधु कुनै खोलाको किनारको बाटो हिंडि रहेका हुन्छ्न । खोलाको किनारमा गिट्टिकुट्नेको लास्करै हुन्छ । उनी बाटामा रोकिएर एकजना गिट्टिकुट्ने ब्यक्तिलाई प्रश्न सोध्छ्न : "भाइ तिमिले के गरेको ?" गिट्टी कुट्ने ब्यक्ती खुब रिसाउछ । ती साधु तिर राताराता आँखा बनाएर हेर्छ र भन्छ " तिम्रो आँखा छैनन ? कि ती आँखा गोलभेडा हुन ? गिट्टी कुटेको, दुख पाएको देखेर हेपेको होला आदि आदि । साधु मुसुक्क मुस्कुराएर चुपचाप अगाडि बढ्छन ।
अलि पर फेरि गिट्टी कुटिरहेको आर्को ब्यक्तिलाई साधुले त्यही प्रश्न दोहोर्याएर सोध्छन । गिट्टी कुट्नेले निराश हुँदै साधु तिर हेर्छ खुईय गर्छ र भन्छ "के गर्नु हजुर गिट्टी कुट्दै छु । दुख पाको छु । गरिब छु । कुन जनमको पापले यस्तो कर्म गर्नु परेको छ । कुनै दिन बिरामी परे परिवारको मुखमा माड लाग्दैन । झुप्रो घर छ लुगाफाटो गतिला छैनन "आदि आदि । उ बडो निराश देखिन्छ । साधु फेरि मुसुक्क मुस्कुराएर आफ्नो बाटो लाग्छ्न ।

केही पर खोलाको किनारमा आर्को ब्यक्तिले गिट्टी कुटि रहेको हुन्छ । तर उसको तरिक गज्जब फरक छ । गिट्टिको थुप्रो नजिकै भताभुंग भएर भत्केको रेडियो छ तै पनि जोडजाड गरेको रेडियोले गित गाई रहेको छ । उसको हातमा पनि अरु गिट्टी कुट्नेको जस्तै रगत छ ठेला उठेका छ्न । शिरबाट पसिनाको धारा बगेको छ । फाटेको कपडा अङ्गमा छ । च्यात्तिएको छाताले घाम छेकेको छैन तर उ रेडियो सङ्गै गुनगुन गुनगुन गित गाई रहेको छ फुर्तिलो छ खुशी छ आनन्दित छ । काम गरेको दुखको कुनै छनक छैन अनुहार हसिलो छ अहिले नै उठेर नाच्ला जस्तो । साधु जिल्ल पर्छन र उहीँ पुरानो प्रश्न उसलाई पनि दोहोर्याउछ्न "भाइ तिमिले के गरेको ? धुलै धुलो भएको त्यो भाइ फकिर तिर हेर्छ पसिना पुच्छ र मुसुक्क हास्दै उत्तर दिन्छ "ओ हो नमस्ते हजुर । को पर्नु भो कुन्नी ? मैले के गरेको भनेर सोध्नु भएको ? पुण्य कमाएको हजुर मैले पुण्यको काम गर्दैछु । हजुरले बाहिरबाट देख्दा त अलि गतिलो काम छैन यो दुख पाउनेले गर्ने जस्तो गिट्टी कुट्ने काम तर मैले पुण्य कमाउदै छु हजुर ।" त्यो ब्यक्तिले साधुलाई गर्वसाथ उत्तर दिन्छ ।

साधु चकित मानेर सोध्छ्न "तिमिले पुण्य कमाएको भन्छौ गिट्टी कुटेका छौ मैले कुरा बुझिन नि ?" त्यो ब्यक्तिले भन्छ "हजुर मैले कुटेको गिट्टिले कति मठ मन्दिर बन्छ्न, लाखौ भक्तजन पुजा गरेर आनन्दित हुन्छ्न । यहि गिट्टिले सडक पिच हुन्छ मेरो पो गाडी साईकिल छैन त हजुर हुनेले त सरर गुडाउछ्न । बिरामी ओसार्न एम्बुलेन्स कुद्न सक्छ । कति ब्यक्तिहरुले घर उद्द्योग यहि गिट्टिबाट बनाउछ्न । उनिहरुको परिवार कति खुशी हुँदा हुन ? म त सम्झदैमा आनन्द लागेर आउँछ । के यो पुण्यको काम भएन त हजुर ?
साधु जिल्ल पर्छन र मुसुक्क मुस्कुराएर आफ्नो बाटो लाग्छ्न । त्यो ब्यक्ती गुन गुन गुनगुनाउदै फेरि गिट्टीकुट्न थाल्छ । साधु अलि पर पुगे पछि त्यो ब्यक्तिले साधुलाई ईसारा गरेर भन्छ "सुन्नुस त हजुर एउटा कुरा त भन्नै बिर्सेछु ।" साधुले सोध्छ्न "केहो भन त ?" त्यो भाईले हास्दै भन्छ "त्यतिमात्र कहाँ हो र हजुर बेलुका ठेकेदार आउँछ्न यो गिट्टी भरेर कति हुन्छ त्यस्को पैसा पनि मलाई दिन्छ्न । म त्यही पैसाले घर गएर परिवारसंग रमाउछु ।" साधु खुशी हुँदै बाटो लाग्छ्न । सायद साधुले जान्न आटेको कुरा पनि यहि हुन सक्दो हो ।

लौ हेर्नुस काम एउटै छ परिस्थिती एउटै छ तर मानिसको मनस्थिती कस्तो भिन्न भिन्न छ । आफुले गरेको कर्मको रिजल्ट त राम्रो होस या नराम्रो आउँछ आउँछ तर त्यसको कुनै प्रवाह नगरी पल-पल आफुले गरेको कर्म वा काममा रमाउन सक्यो भने यो भन्दा ठूलो ध्यान केही हुन सक्दैन । यस्तो ब्यक्तिले ध्यान गर्छु समाधी लागोस, कर्म गर्छु राम्रो फल आओस अनि खुशी हुन्छु भनेर कुरि रहनु पर्दैन । काम गर्दैमा आनन्द लिन सकिन्छ यसलाई नै शन्त, बुद्ध पुरुषहरु कर्मानन्द भन्दछ्न । यदि आलु काट्दैमा आनन्द लिई सकिएको छ भने तरकारिमा झुक्किएर नुन दुई पटक परेछ त्यहि कारणले कसैले गाली गरे पनि उसलाई खास फरक पर्दैन । यति कुरामा भने ख्याल हुनु पर्यो कि हरेक कर्ममा होस भने हुनु पर्दछ । होस पुर्बक गरेको कर्ममा कोहि दुखी हुन सक्दैन र छुट्टै समय निकालेर ध्यान गरि रहनु पर्दैन । हरि ॐ तत्सत ।

ब्यस्त जीवनमा काम गर्दै ध्यान गर्दै : आचार्यश्री ओशो अखण्ड
०३ असार २०७६